८ असोज २०८२
नेपालको राजनीति लामो समयदेखि विभिन्न आन्दोलन, संघर्ष र बलिदानको इतिहास बोकेको छ। पञ्चायती शासनको विरुद्धदेखि २०४६ सालको जनआन्दोलन, २०६२/६३ को जनआन्दोलनसम्म पुराना नेता तथा कार्यकर्ताहरूले देखाएको त्याग, समर्पण र योगदान अमूल्य छ। उनीहरूको साहस, आस्था र बलिदानकै कारण आज नेपाली जनताले बहुदलीय लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक मूल्यहरू पाएका छन्। तर, विडम्बना के छ भने, यस्ता पुराना नेता र कार्यकर्ताहरूलाई वर्तमान राजनीतिक परिदृश्यले आवश्यक सम्मान दिन सकेको छैन।
आजको देशको अवस्था जेन्जी आन्दोलन (नयाँ पुस्ताको आन्दोलन) र पुराना पुस्ताका संघर्षबीचको द्वन्द्व र अन्तरसम्बन्धमा अडिएको देखिन्छ। जेन्जी आन्दोलनलाई नयाँ सोच, नयाँ ऊर्जा र परिवर्तनको प्रतीक मानिन्छ। नयाँ पुस्ता देशमा पारदर्शिता, जवाफदेहिता, सुशासन र अवसरको खोजी गर्दै सडकमा निस्किन्छन्, सामाजिक सञ्जालमा आवाज उठाउँछन्, र परम्परागत राजनीतिका गलत अभ्यासहरूलाई चुनौती दिन्छन्। उनीहरूले पुरानै ढर्रामा राजनीति गर्ने, भ्रष्ट्राचारमा फस्ने, अवसरवादी बन्ने, र कार्यकर्ताको भावनालाई अवमूल्यन गर्ने पुराना नेताहरूप्रति आक्रोश देखाएका छन्।
यद्यपि, पुराना नेता र कार्यकर्ताले गरेको योगदानलाई नकार्न सकिँदैन। उनीहरूकै पसिनाले, जेल–जेलजाली सहनु पर्ने बलिदानले र संघर्षको मार्ग अपनाउने दृढताले आजको लोकतान्त्रिक अभ्यास सम्भव भएको हो। उनीहरूले धेरै समय जेलमा बिताए, परिवार, पेशा र जीवनलाई तिलाञ्जली दिए। त्यही भएर जेन्जी आन्दोलन र पुराना नेताबीच द्वन्द्व होइन, सहकार्य र उत्तराधिकार सम्बन्ध स्थापित हुन जरुरी छ।
देशको आजको अवस्था खासगरी राजनीतिक अविश्वास, भ्रष्ट्राचार, बेरोजगारी र असमानताले ग्रस्त छ। पुराना नेताहरू लामो समयसम्म सत्तामा रहँदा पनि युवापुस्ताले खोजेको परिणाम दिन सकेनन्। त्यसैले नयाँ पुस्ताले आन्दोलनमार्फत पुरानो संरचनालाई बदल्ने माग उठाएका छन्। उदाहरणका लागि, हालका केही स्वतन्त्र उम्मेदवारहरूको उदय, नागरिक आन्दोलन, र सडक प्रदर्शनहरू युवापुस्ताको असन्तुष्टिको स्पष्ट अभिव्यक्ति हुन्।
तर, केवल आलोचना र आक्रोशले मात्र देशको अवस्था सुधारिँदैन। पुराना नेता र कार्यकर्ताको अनुभव, राजनीतिक सूझबुझ र अन्तर्राष्ट्रिय सम्बन्ध उपयोगी हुन्छन् भने जेन्जी आन्दोलनको उत्साह, नविन दृष्टिकोण र प्रविधिमैत्री सोच बराबरी महत्त्वपूर्ण छन्। यी दुईबीचको समन्वयले मात्र नेपालको लोकतन्त्रलाई सबल बनाउन सक्छ।
आज देशले आवश्यक पारेको कुरा भनेको राजनीतिक संस्कृतिको परिवर्तन हो। पुरानाले सिकेको धैर्यता र त्यागलाई नयाँ पुस्ताले ग्रहण गर्नुपर्छ, र नयाँ पुस्ताले बोकेको इमान्दारिता र जवाफदेहिताको चाहनालाई पुराना नेताले आत्मसात् गर्नुपर्छ। यदि पुराना नेताले अहंकार, स्वार्थ र सत्ताप्रतिको मोह त्याग्न सकेनन् भने जेन्जी आन्दोलन अझ उग्र रूपमा अगाडि बढ्नेछ, जसले पुराना संरचनालाई विस्थापित गर्न सक्छ।
युवाहरूले पनि केवल नाराबाजी वा आन्दोलनमा मात्र सीमित नभई वैकल्पिक नीति निर्माण, इमान्दार नेतृत्व र दीर्घकालीन दृष्टिकोण प्रस्तुत गर्नुपर्ने हुन्छ। जेन्जी आन्दोलनले पुराना पुस्ताप्रति अस्वीकार मात्र होइन, सहकार्य र सिकाइको दृष्टि पनि राखेमा देशलाई स्थायित्व र समृद्धितर्फ लैजान सकिन्छ।
अन्ततः, पुराना नेता–कार्यकर्ताको बलिदान र नयाँ पुस्ताको जोशबीचको एकता नै नेपालको उन्नत भविष्यको आधार बन्न सक्छ। अन्यथा, आ–आफ्नो गतिमा हिँड्ने हो भने देश अझै अविश्वास, अस्थिरता र निराशाको चक्रमै अल्झिरहनेछ।
