• २०८२, २१ भाद्र शनिबार
0 COMMENTS

जाजरकोट। छेडागाड नगरपालिका वडा नम्बर ६ यतिबेला प्राकृतिक विपद्को मारमा परेर करुण कथा सुनाइरहेको छ। अविरल वर्षा र त्यसपछिको पहिरोले गाउँका गाउँ सुनसान बनाइदिएको छ। सयौँ परिवार विस्थापित हुँदा गाउँमा रुवाबासी छाएको छ।

गोठा कुन हुँदै थाना, ज्यासैन र देउला बस्तीमा गएको पहिरोले ४० भन्दा बढी घरधुरी पुरै उजाड बनाएको छ। वर्षौँको पसिना, जीवनभरको सम्पत्ति एकैछिनमा माटोमा मिल्दा स्थानीयवासी अक्क न बक्क छन्। अझै करिब १०० भन्दा बढी किसानले खेतीयोग्य जमिन गुमाएका छन्। परिवार पाल्ने आधार नै नष्ट हुँदा उनीहरूलाई भोलिको दिन कसरी गुजारा गर्ने भन्ने ठूलो चिन्ता सताइरहेको छ।

त्यति मात्र होइन,  पहिरोको कारणले अब्गान, जागिरे, सानी मेला, रोकायचौर, भलमा, मथेली, पुल्ला, मेडुका जस्ता बस्तीमा पनि  घर जग्गाहरू चित्ररबित्रर भएका  छन्। बारीको मकै, जीवन धान्ने आधार नै पहिरोले लुटिदिएको छ। कतिपयले घरको छतसमेत गुमाए भने कतिपय अझै पहिरोको डरले असुरक्षित बसाइमा बस्न बाध्य छन्।

बृद्ध, बालबालिका र गर्भवती महिलाहरूको पीडा झन् भयावह बनेको छ। चिसो, भोक र रोगको त्रासले उनीहरूको जीवन थप कठिन बन्दै गएको छ। 

यस भीषण संकटमा सरकारको जिम्मेवारी झन् गम्भीर बनेको छ। उद्धार र राहत तत्कालै पुग्नुपर्ने बेला ढिलाइ हुँदा पीडितहरु झन् निराश बनेका छन्। अस्थायी बासस्थान, खाद्यान्न, स्वास्थ्योपचार र सुरक्षाको व्यवस्था तुरुन्त गर्न सकिएन भने यो त्रासदी अझै मानवीय संकटमा परिणत हुने खतरा छ।

सरकारको प्राथमिकता अहिले पीडित जनताको पीडा कम गर्नु हुनु पर्छ। वर्षौँदेखि राज्यलाई कर तिरेर, देश बनाउने सपना देख्दै आएको किसानको पसिना यसरी बग्दा सरकार चुप बस्न मिल्दैन। यो केवल प्राकृतिक प्रकोप मात्र होइन, राज्यको दायित्वको पनि कठोर परीक्षा हो।

छेडागाड नगरपालिका–६ का जनताले सरकारको हात समाउने अपेक्षा गरेका छन्। उनीहरूको आँखामा आँसु मात्रै होइन, राज्यसँग भरोसाको अपिल झल्किएको छ। जनताको पीडा कम गर्ने जिम्मा सरकारकै काँधमा छ। यदि तुरुन्त कदम चालिएन भने भोलि यो त्रासदी अझ भयावह बन्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।