• २०८२, ७ कार्तिक शुक्रबार
0 COMMENTS

भेरी कर्णाली मिडिया | लोकेन्द्रराज शर्मा, जाजरकोट

छेडागाड–१ जाल्मामा  खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा भएको दुईदिने प्रतियोगिताले स्थानीय युवामा खेलप्रतिको रुचि, एकता र प्रतिस्पर्धात्मक भावना जागृत गरेको छ।

असोज २८ गते उद्घाटन गरिएको प्रतियोगिताको प्रमुख अतिथि छेडागाड नगरपालिका  शिक्षा तथा खेलकुद शाखाका प्रमुख कृष्ण ब. थापा  रहनुभएको थियो। कार्यक्रमको सञ्चालन शेरबहादुर रावतले गर्नुभएको थियो भने सभाध्यक्षता छेडागाड–१ का वडा अध्यक्ष रामबहादुर बुढाले गर्नुभएको थियो। उद्घाटन समारोहमा विभिन्न वडाका जनप्रतिनिधि, शिक्षक, समाजसेवी, युवायुवती र खेलप्रेमीहरूको बाक्लो उपस्थितिले मैदान भरिएको थियो।

स्थानीय जनताको उत्साह, बालबालिकादेखि वृद्धवृद्धासम्मको सहभागिता र खेल मैदानको जीवन्त वातावरणले कार्यक्रमलाई उत्सवमय बनाएको थियो। उद्घाटनको क्षणदेखि नै मैदानमा जोश र ऊर्जा मिसिएको थियो, र खेलाडीसँगै दर्शकहरू पनि हौसला दिँदै खेलमा ताली बजाइरहेका थिए।

प्रतियोगितामा जाजरकोट जिल्लाका विभिन्न टिमहरूको सहभागिता रहेको थियो। खेलहरू अत्यन्त प्रतिस्पर्धात्मक र रोचक रहे। रेफरी कृष्ण थापाकृति थापाको निष्पक्ष निर्णय र संयमित सञ्चालनका कारण सम्पूर्ण खेलहरू व्यवस्थित र पारदर्शी ढंगले सम्पन्न भएको सहभागीहरूले जनाए।

असोज २९ गते सम्पन्न फाइनल खेलमा शिवालय–८ टिमका कप्तान केशव बिकको नेतृत्वमा खेल्ने टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पार्न सफल भयो। रोमाञ्चक प्रतिस्पर्धामा भाइ टिम जाल्माका कप्तान राजेन्द्र बुढाको नेतृत्वमा खेल्ने टिमलाई २–१ को सेट अन्तरले पराजित गर्दै शिवालय टिमले विजेताको ट्रफी उठाएको हो।

विजेता टिमले नगद रु. ३९,९९९, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता भाइ टिम जाल्माले रु. २०,०००, ट्रफी र प्रमाणपत्र पाएको छ। पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि थापाले विजेता तथा उपविजेता टिमका खेलाडीलाई बधाई ज्ञापन गर्दै खेलकुदले युवामा नेतृत्व, अनुशासन र सामूहिक भावना विकास गर्न सहयोग पुर्‍याउने बताउनुभयो।

कार्यक्रमका सभाध्यक्ष रामबहादुर बुढाले खेलकुदलाई सामाजिक एकता र सकारात्मक सोचको माध्यमका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै आगामी दिनमा अझ ठूलो स्तरको प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रमका संचालक शेरबहादुर रावतले स्थानीय युवामा लुकेका प्रतिभा पहिचान गरी निरन्तर खेलकुद गतिविधि सञ्चालन गर्ने योजना प्रस्तुत गर्नुभयो।

फाइनल खेल अवलोकन गर्न आएका दर्शकहरू अत्यन्त उत्साहित देखिन्थे। मैदानका चारैतिर ताली, नाराबाजी र हौसला गुञ्जिएको थियो। खेलाडीहरूको जोश, अनुशासन र समर्पणले जाल्मा गाउँलाई दुई दिनका लागि खेलमय बनाइदिएको थियो।

समापन समारोहमा आयोजक टोलीले सम्पूर्ण अतिथि, खेलाडी, सहयोगी र स्थानीय बासिन्दाहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रतियोगिताको औपचारिक समापन घोषणा गर्‍यो। खेलकुदले सिर्जना गरेको सकारात्मक वातावरण र स्थानीय युवाको आत्मविश्वासले जाल्मा गाउँमा खेल संस्कृतिको नयाँ लहर ल्याएको सहभागीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।