जाजरकोट ।
जाजरकोट जिल्लाको कुशे गाउँपालिका–७ समाकोटमा घटेको एक हृदयविदारक घटनाले सम्पूर्ण क्षेत्रलाई शोकमा डुबाएको छ। स्थानीय निवासी धन बहादुर सिंहकी २२ वर्षीया जेठी र १८ वर्षीया कान्छी छोरी खोलामा नुहाउने क्रममा आकस्मिक रुपमा पानीको भेलमा बग्दा ज्यान गुमाएका हुन्। अल्पायुमै भएका यी दुई बहिनीको निधनले केवल एक परिवार मात्र नभई सम्पूर्ण गाउँसमुदाय नै स्तब्ध बनेको छ।
घटनाको प्रत्यक्षदर्शीका अनुसार, दुवै जना दिदी–बहिनी नियमित रूपमा खोलामा नुहाउन गएका थिए। वर्षायामका कारण पानीको बहाव केही बढी भए पनि उनीहरूले सामान्य ठानेका थिए। तर अचानक तीव्र गतिमा आएको भेलले उनीहरूलाई बगायो। स्थानीयवासी तथा परिवारजनले तत्काल खोजीकार्य शुरु गरे तापनि धेरै प्रयासपछि मात्र उनीहरूको शव फेला पार्न सकियो।
गाउँभरि करुण क्रन्दन मच्चिएको छ। मृतकका आफन्त, छिमेकी र आफन्तजन शोकाकुल अवस्थामा छन्। गाउँमै हुर्किएका, सरल र अनुकरणीय स्वभावकी दुई युवतीको एकैपटक निधन भएको खबरले सबैलाई आक्रन्दित बनाएको छ। विशेषगरी पढाइ लेखाइमा रुचि राख्ने र भविष्यमा समाजमा केही योगदान पुर्याउने सपना बोकेका यी दिदी–बहिनी अल्पायुमा संसारबाट विदा लिन बाध्य हुनु अकल्पनीय पीडाको विषय भएको गाउँलेहरूले बताएका छन्।
समाजसेवी, राजनीतिक दलका स्थानीय नेताहरू, जनप्रतिनिधि तथा शिक्षकहरूले समेत दुःख प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनीहरूले यस्तो घटनाले गाउँमै मात्र नभई सम्पूर्ण जिल्लालाई नै स्तब्ध बनाएको उल्लेख गरेका छन्। मृतक दुवै जनाको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारलाई सहनशक्ति प्रदान गर्न भगवानसँग प्राथना गरिएको छ।
यस प्रकारका घटनाले ग्रामीण भेगमा पानीसँगको सतर्कता र सचेतनाको आवश्यकता झन् तीव्रताका साथ औंल्याएको स्थानीयवासी बताउँछन्। वर्षायाममा खोलानाला, नदी र जमिनको अवस्था जोखिमपूर्ण हुने हुँदा युवायुवतीदेखि वृद्धवृद्धा सबैले सतर्क रहनुपर्ने सन्देश पनि यस घटनाले दिएको छ।
शवपरीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै जनाको अन्तिम संस्कार परम्पराअनुसार सम्पन्न गरिएको छ। अन्तिम संस्कारमा गाउँभरिका मानिसहरूको भीड लागेको थियो। आँसु र रुवाबासीबीच श्रद्धाञ्जली अर्पण गरिएका यी दुई बहिनीको विदाइ क्षण गाउँलेहरूले जीवनभर नबिर्सिने बताएका छन्।
यस दुःखद घटनाप्रति भेरी कर्णाली मिडिया परिवारले पनि गहिरो समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको लागि प्रार्थना गर्दछ।
