जाजरकोट — करिब तीन दशकपछि मोती ओली अहिले नेकपा (एमाले) छेडागाड नगरपालिकाका नगर अध्यक्षको रूपमा छन्। इमान्दार र लगनशील कार्यकर्ता ओलीले २०५६ सालमा संगठित सदस्य भएर राजनीतिमा प्रवेश गरेका थिए। लामो समयसम्म कुनै अवसर नपाए पनि अहिले उनी पार्टीभित्र उत्कृष्ट नगर अध्यक्षका रूपमा स्थापित भएका छन्।
ओली विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। अनेरास्ववियुमा सक्रिय रहँदै उनी जिल्ला अध्यक्षसम्म पुगे। कार्यकर्तामाझ लोकप्रिय भए पनि नेतृत्वको चाकडी नगर्ने स्वभावका कारण अवसरबाट पटक–पटक पछि पर्नु पर्यो। पार्टीको जिल्ला उपाध्यक्ष पदमा समेत पराजित भएका उनी संगठनमा भने निरन्तर सक्रिय रहिरहे।
लामो संघर्षपछि कार्यकर्ताको विश्वास जित्दै ओली नेकपा एमाले छेडागाड नगरपालिकाको नगर अध्यक्षमा निर्वाचित भए। पद पाउनुभन्दा अघि लामो समयसम्म उनी सामान्य कार्यकर्ता भएरै संगठन र कार्यकर्ताको पक्षमा काम गर्दै आएका थिए। नगर अध्यक्षमा निर्वाचित भएपछि उनले पारदर्शी संगठनात्मक कार्यशैली, भ्रष्टाचारविरोधी दृष्टिकोण र प्रत्यक्ष कार्यकर्तामुखी अभियानलाई प्राथमिकता दिएका छन्।
उनको नेतृत्वमा छेडागाड नगरपालिकामा पार्टी संगठन सुदृढीकरण, कार्यकर्ताबीचको एकता र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन भएको छ। कार्यकर्तासँग प्रत्यक्ष पुग्ने, उनीहरूको समस्या सुन्ने र समाधान गर्ने शैलीले उनलाई “ एक असल नेताको रूपमा स्थापित गरिदिएको छ।
पार्टीभित्रको प्रतिस्पर्धात्मक मूल्याङ्कनमा समेत ओली उत्कृष्ट नगर अध्यक्षका रूपमा चर्चित भएका छन्। कार्यकर्ताले उनलाई “पदको लागि होइन, सेवाको लागि राजनीति गर्ने नेता” को विशेषण दिएका छन् ।