सुर्खेत ।। कर्णाली प्रदेश अस्पताल, सुर्खेतको प्राङ्गणमा रातिको समयमा लागुपदार्थ, चुरोट तथा रक्सी सेवन गर्दै हो–हल्ला गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अस्पताल क्षेत्रमा यस किसिमको गतिविधि भइरहेको जनगुनासो बढेपछि नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले सोमबार राति २ बजे आकस्मिक अनुगमन गरेको हो।
अनुगमनका क्रममा अस्पताल हाताभित्र रहेको क्यान्टिनमा समेत युवायुवतीहरू नशामा लिप्त भई धुम्रपान तथा मद्यपान गरिरहेको अवस्थामा भेटिएका थिए। प्रहरीले तत्कालै उनीहरूलाई नियन्त्रणमा लिएर कानूनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
नगर प्रहरीका अनुसार, अस्पतालजस्तो संवेदनशील क्षेत्रमा यस किसिमका गतिविधिले अस्पतालको शान्त वातावरण मात्र बिगार्दैन, बिरामी र उनका आफन्तलाई समेत मानसिक त्रास पैदा गर्ने भएकाले दैनिक रूपमा सुरक्षा निगरानी बढाइएको छ। साथै, अस्पताल प्रशासनसँग समन्वय गरी भविष्यमा यस्ता घटना रोकथामका लागि कडाइका साथ कारबाही गरिने चेतावनी दिइएको छ।