२१ माघ जाजरकोट
छेडागाड नगरपालिकामा आज बाट पाँचौं मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगित शुरु भएको छ। नगरपालिका भित्रका जम्मा १५ वटा मा वि का खेलाडीहरु विच हुने एथलेटिक्स र भलिवल तर्फका जम्मा १४ वटा खेलहरु सञ्चालन हुनेगरी आजबाट शुरु भएको उक्त प्रतियोगिता आजको उद्घाटन समारोहबाट शुरु भएको छ।
नगर प्रमुख तथा नगर खेलकुद विकास समितिका अध्यक्ष रत्न बहादुर खड्काको अध्यक्षता र कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्री श्री राजिव विक्रम शाहको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीको विशेष आतिथ्यतामा आजको उदघाटन समारोह सम्पन्न भएको छ कार्यक्रमको सञ्चालन आयोजना स्थल रहेको विद्यालय जनप्रिय मा वि का प्र अ जय बहादुर थापाले गरेका थिए। उक्त खेलकुद प्रतियोगिताको आयोजना छेडागाड नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले गर्ने गरेको र यो बर्षको आयोजक पनि शिक्षा युवा तथा खेलकुद शाखा नै रहेको छ।
आजको उद्घाटन कार्यक्रम सम्पन्न लगत्तै खेलाडीहरुको मार्चपास र केहि खेलहरु सञ्चालन गर्ने र निर्धारित समयमा नै प्रतियोगिता सम्पन्न गर्ने कार्यतालिका तय गरिएको भएतापनि आज भने उद्घाटन समारोह र खेलाडीहरुको मार्चपास मात्रै सम्पन्न भएको र भोलि विहानै देखि प्रतियोगिताहरु सुचारु हुने आयोजकले जानकारी दिएका छन। ३ दिन सम्म सञ्चालन हुने खेलकुद प्रतियोगितालाई निष्पक्ष, मर्यादित र शान्तिपूर्ण तरीकाले सम्पन्न गर्नको लागि आयोजकको तर्फबाट सहभागी विद्यालयका प्र अ र रेफ्री समेतको सहभागितामा आवश्यक छलफल र थप केहि मापदण्ड र आचारसंहिता निर्माण गरिएको वताइएको छ।
प्रमुख अतिथिको शुभकामना मन्तव्य राख्नुहुदै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजिव विक्रम शाहले आफु पनि खेलकुदका क्षेत्रमा सौख राख्ने स्वभावको भएको र कर्णाली प्रदेशको खेलकुद, शिक्षा, स्वास्थ्य, भौतिक निर्माण, विद्युतिकरण, सडक यातायात लगाएतका क्षेत्रमा सक्दो योगदान गर्ने र छेडागाडका खेलाडीहरुले पनि आफ्नो व्यक्तित्व विकास, स्वास्थ्य र राष्ट्र निर्माणका लागि उच्च मनोवलका साथ खेलकुद प्रतियोगितामा सहभागी हुने हौसला दिनुका साथै शुभकामना प्रदान गर्नु भएको थियो।