धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा-आमाले बनाउनुभएको घर ‘पक्की’ थिएन तर त्यहाँ दश पन्ध्रजना पाहुना आउँदा बस्ने ठाउँ थियो । गाउँभरका आफन्त र इष्टमित्र जम्मा हुँदा पनि त्यहाँ अटिन्थ्यो । चियादेखि एक छाक खाना ‘क्याटरिङ्’बाट अर्डर गर्न पर्दैनथ्यो । व्रतबन्धदेखि विवाहसम्मका पूजाआजा र भोजभतेर पनि त्यही घरले धान्थ्यो ! त्यहाँ हुर्किने नातिनातिनालाई खेल्ने ठाउँ थियो । बिस्कुन सुकाउने आँगन र तरकारी लगाउने करेसाबारी थियो ।
घरमा सटर थिएन । आधा घर भाड़ामा थिएन । दाजुभाइका छोराछोरी या भान्जाभान्जी आउँदा महिनौंसम्म अटाउन सक्ने ठूलो छाती थियो त्यस्तो घरसँग । स्टोरेजको कुरो छोड्नुस्, आठदश जना केटाकेटीले लुकामारी खेल्न पुग्ने ठाउँ थियो । र सबैभन्दा ठूलो कुरा ‘मोर्गेज’ अर्थात् ब्याङ्कलाई बुझाउनपर्ने मासिक किस्ताबाट अपरिचित थियो त्यो । जे थियो आफ्नो थियो । चाडबाड आउँदा, पूजाआजा हुँदा कमेरो र रातो माटोको जोड़ले घर नयाँजस्तै देखिन्थ्यो !
अदुवा, बेसार, खुर्सानी, अमिलो, साग र काउली आफ्नै बारीमा फल्थ्यो । आफ्नै खेतबारीको धान, मकै, कोदो र फापरको छाक पाक्थ्यो ! सिजनका फलफूल हातैले टिपेर खाइन्थ्यो । दूध, दही, मोही, नौनी, घिउदेखि तरकारीबारीलाई चाहिने प्राङ्गारिक मलसम्म आफ्नै गोठबाट आउँथ्यो !
छोराको बिहे गर्दा, नातिनातिनालाई उच्च शिक्षा या विदेश पठाउँदा अथवा कुनै असाध्य रोगको शहर पसेर उपचार गर्नुपर्दाबाहेक हजुरबुबाले कसैसँग ऋण माग्न परेन । अँ, साधनको नाममा पछिल्लो समय घरमा साइकल थियो । त्यसले गाउँका धेरै मान्छेलाई पछाडिको सिटमा राखेर बजार पुऱ्यायो होला । कतिको सामान बोकेर घरसम्म पुऱ्याइदियो होला । कति बिरामी हुँदा एम्बुलेन्स बनेर त्यो स्वास्थ चौकी या गाड़ी पाइने ठाउँसम्म पुग्यो होला । एउटा साइकलमा कति नै रस होला र, तर त्यसले अलिअलि धेरैलाई भिजाएको थियो ।
त्यो घरको सबैभन्दा ठूलो विशेषता भनेको चाहिँ त्यहाँ तीन पुस्ता अटाउनु थियो र सबै सँगै हुनु थियो । साँझ भात पस्किँदा भान्सा एक्लो कहिल्यै हुँदैनथ्यो । सबै जना जम्मा नभई भान्सा खुल्दैनथ्यो ।
मलाई त्यो जीवन गरिब जीवन हो भन्ने कताबाट लाग्यो कुन्नि,
धनी बन्न म शहर पसेँ । डिग्रीसम्म पढेँ । शहरमा आधा जीवन त एक्लो कोठा या कोठासमूहको फ्ल्याटमा बित्यो । त्यहाँ मेरो आफ्नै खुट्टा फैलाउन पुग्ने ठाउँ थिएन, मैलाई पेट भर्न सजिलो थिएन । आफन्त र इष्टमित्र एक हप्तालाई आउँदा मसँग कहाँको ‘स्पेस’ होस् । न त्यहाँ केही उब्जन्थ्यो, न पाइतालाले माटो छुन पाउँथ्यो । खै कस्तो खाले सम्पन्नता थियो त्यो, त्यहाँ भान्सा प्रायः जसो एक्लो हुन्थ्यो । चिसो हुन्थ्यो ।
शहरबाट म अझै धनी बन्न विदेश पसेँ । कमाएँ । आज दुई-तीन बेडरूमको घर भयो । मैले छोड़ेर आएको गरिब घरमा कहिले काहीँ फर्केला भनेर सबैभन्दा राम्रो कोठामा अझै ताला लागेको छ । खाली छ त्यो । तर मैले आजीवन डिग्री घोटेर कमाएको धनी घरमा हजुरबुबा या बुबाआमा आउनुभयो भने कहाँ सुताउने होला भनेर घरसल्लाह गर्न पर्छ । दश जना इष्टमित्र आउने हो भने मेरो घरले स्वागत गर्न सक्दैन । मेरो पनि के भन्नु र ! ब्याङ्कको नियमित किस्ता बुझाउनुपर्छ । बुझाउन ‘एक्स्ट्रा’ काम गर्नुपर्छ । कामै काम गरेपछि सँगै भन्ने भएन ! घरभरि तीन पुस्ताको आबाज त के हुन्थ्यो र, फोटो मात्रै छ । कतिबेला त त्यही फोटो पनि राख्न भ्याइन्न । आफ्नो राखे पुगिहाल्यो नि! फोहोर फाल्ने ठाउँ त छैन, केही फल्ने र टिपेर खाने कुरो परको भयो । साइकलको ठाउँमा गाड़ी त छ तर त्यसको रस मैंबाहेक अरूलाई पुगेको छैन । त्यो पनि अरू कुरा जस्तै ब्याङ्कको ऋणमैँ छ ।
त्यो घरमा हुँदा कोही कहिल्यै एक्लै अस्पताल गएन । म स्वास्थ्यचौकी जाँदा सिङ्गो परिवार पछि पछि थियो । आज हजुरबुबा अस्पताल जाँदा मसँग समय छैन ।
हजुरबुबा हुनुको रस सिङ्गो गाउँमा थियो । त्यसको दुःखसुखमा थियो । म हुनुको रस मैलाई मात्रै छ । हजुरबुबासँग मावली, बुढो मावली, फूपू, सानोबा, सानीआमा, दाजुभाइ, जेठान, साली, ससुराली, भान्जाभान्जी, नातिनातिना, गुरु, शिष्य, इष्टमित्र र छरछिमेकको ठूलो संसार थियो । मसँग एकदुई थान नयाँ अङ्कल र सरहरू मात्रै छन् ।
हजुरबुबाको त्यो गरिबी र आजको मेरो सम्पन्नता हेरेर के लाग्यो भने, धनी हुनु भनेको हामीबाट ‘म’ हुनु रहेछ ।